होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश यस प्रदेश अन्तर्गतका १३ वटा जिल्लाभरि छरिएर रहेका साना, मझौला, पर्यटक स्तर तथा तारे होटलहरुको छाता संस्थाको रुपमा कार्य गरिरहेको गैर नाफामूलक गैर सरकारी संस्था हो । बि.स २०७५ सालमा काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यस संघले निरन्तर रुपमा आफ्नो मातहतका होटल तथा पर्यटन व्यवसायीहरुका बीचमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा अवगत गराउँदछौँ ।
यस संघले नेपालका ७७ वटै जिल्लामा छरिएर रहेका करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठनको रुपमा क्रियाशिल होटल व्यवसायी महासंघ नेपाल मातहत रहेर आफ्ना मातहतका जिल्ला संघमा आवद्ध व्यवसायीहरुको हक, हित प्रवर्द्धन र अधिकार स्थापित गर्नको लागि आवाज उठाउँदै राष्ट्रको पर्यटन प्रवर्द्घन एवं आर्थिक समृद्धिको बाटोमा अग्रसर हुँदै आईरहेको कुरा छर्लङग छ । यस संघले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरु एवं सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायिक हक हित प्रवर्द्धन एवं देशको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।
प्राकृतिक, साँस्कृतिक, पुरातात्विक एवं भौगोलिक विविधताले भरिपूर्ण नेपाल पर्यटकीय गन्तव्यका लागि अनुपम उदाहरण त हुँदै हो त्यसमाथि पनि राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिईरहेको होटल तथा पर्यटन व्यवसायको महत्व यस मानेमा अझ बढी देखिन्छ । आर्थिक परिवर्तनको संवाहक र सामाजिक क्षेत्रको प्रतिनिधित्वको परिसूचक हाम्रो होटल व्यवसाय आफैंमा एउटा गर्विलो विषय पनि हो । संसार कै उत्कृष्ट गन्तव्य भएर पनि पछाडि परिरहेको नेपालको पर्यटन उद्योगको कुरा गर्दा अत्यन्तै दुःख महशुस हुन्छ । राज्यका सम्बन्धित निकायहरुको बेवास्ताले गर्दा नै नेपालको पर्यटन उद्योग प्रगतिको दिशामा उन्मुख हुन सकिरहेको छैन यो आजको यथार्थ पनि हो । त्यतिमात्र होइन थोरै लगानी तर उच्चतम प्रतिफल पाउन सकिने यस व्यवसाय नेपालमा फष्टाउन नसक्नुमा राज्य पक्ष नै बढी दोषी देखिन्छ ।
पर्यटन उद्योग अन्तर्गतको सबैभन्दा महत्वपूर्ण क्षेत्र यस होटल व्यवसायमा सम्बद्ध हामी होटल व्यवसायीहरु व्यापार मात्र गर्दैनौँ हामीले गरेको व्यवसायको व्यवसायिक सुरक्षा, मान, मर्यादा र ईज्जतका लागि समेत संगठित रुपमा अगाडि बढिरहेका छौं । निजि क्षेत्रबाट सञ्चालित हाम्रो होटल व्यवसाय मर्यादित र स्वच्छ बनाउँदै जाने हाम्रो नीति र उद्देश्य अनुसार हामी यस कार्यमा निरन्तर लागिरहने छौं । स्वदेश मै रोजगारीको सम्भावनालाई हाम्रो व्यवसायले प्रमुख प्राथमिकतामा राखेको मात्र छैन यूवा जनशक्तिलाई परिपूरक ढंगले परिचालन गरी सीपमूलक क्षमताको अभिवृद्धि गर्ने उद्देश्य समेत बोकेको छ ।
प्राकृतिक सौन्दर्य झल्काउने विविध पक्षहरु जस्तै, विश्व कै उच्च हिमशृंखला, नदीनाला, झरना, ताल तलैया, गुफा, सिमसार एवं जलाधार क्षेत्र, वनजंगल, विश्व मै दुर्लभ मानिएका वन्यजन्तु तथा सयौँ प्रजातिका चराचुरुङ्गीहरु, हिमाल, पहाड र तराईको भौगोलिक विविधता, साँस्कृतिक एवं जातीय विविधता लगायतका असंख्य विशेषता बोकेर सगरमाथाको शिरलाई उचालिरहेको हाम्रो देश नेपाल बास्तव मै पर्यटकीय गन्तव्यका लागि स्वर्ग समान छ । यिनै प्राकृतिक, साँस्कृतिक एवं भौगोलिक धरोहरहरुलाई बोकेर आन्तरिक एवं बाह्य पर्यटनको प्रचुर सम्भावना कुरिरहेको देश हो नेपाल । तथापि हामी यो क्षेत्रमा व्यवसाय गरिरहेका व्यवसायीहरु आफैंभित्र भएको प्रचुर सम्भावनालाई चिन्न नसकेर वा चिनेर पनि त्यसको सही सदुपयोग गर्न नजानेर पछाडि परिरहेका छौँ ।
यसरी पर्यटकीय श्रोत र साधनको हिसावले धनी भएर पनि देशमा विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती, गैर जिम्मेवार कर्मचारीतन्त्र जस्ता समस्याले नेपालको पर्यटन व्यवसायको विकासमा खासै प्रगति हुन सकेको छैन । त्यतिमात्र होइन प्रचार प्रसारका कमीले पनि हामीले हामीभित्रैका सम्भावनाहरुको बारेमा जानकारी पाउन पनि सकिरहेका छैनौँ ।
तसर्थ अब हामी बीचबाटै हामीले हाम्रा सम्भावनाहरुको खोजी र विकास गर्दै व्यवसायिक प्रगतिलाई मूल आधार मानेर अगाडि बढनुको बिकल्प छैन । यसैलाई अभिन्न अंग मानी बागमती प्रदेश अन्तर्गत रहेका १३ वटै जिल्लाभित्र छरिएर रहेका पर्यटकीय सम्भावनाको खोजी र विकास एवं प्रचार प्रसार मात्र होइन १३ वटै जिल्ला संघहरुमा आवद्ध सम्पूर्ण होटल व्यवसायीहरुको हित प्रवर्द्धनमा समेत आफूलाई समर्पित गर्दै यो प्रदेश संघ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।
राष्ट्रको सर्वाङगिण विकासमा सबैभन्दा बढी योगदान रहेको होटल तथा पर्यटन क्षेत्र र यस क्षेत्र अन्तर्गत रहेका सबै प्रकारका व्यवसायलाई थप व्यवस्थित र गोलबन्द गर्दै पर्यटक मैत्रि वातावरण एवं स्तरीय व्यवसाय सञ्चालनका लागि संघले बिभिन्न खालका तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण तालिम जस्ता गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ । यस होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा पुर्याउँदै व्यवसायीहरुलाई विभिन्न तालिमका कार्यक्रमहरु संञ्चालन गदै आर्थिक सम्बृद्धि तर्फ अगाडि बढिरहेको छ । आफ्नो प्रदेशभित्र छरिएर रहेका व्यवसायीहरुलाई एकिकृत गर्दै थप सुदृढ बनाउनुका साथै स्तरीय व्यवसायका माध्यमबाट स्तरीय सेवा प्रदान गर्दै पाहुनाहरुलाई सन्तुष्ट पार्न एवं नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश निरन्तर सक्रिय रहेको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशमा आवद्ध कूल होटल संख्या : ४७४६
काठमाडौँ जिल्ला १८२६
भक्तपुर जिल्ला ५७५
ललितपुर जिल्ला ८५
काभ्रेपलाञ्चोक जिल्ला ३००
नुवाकोट जिल्ला २२५
रसुवा जिल्ला २९०
सिन्धुपाल्चोक जिल्ला ४००
दोलखा जिल्ला २५०
रामेछाप जिल्ला १५०
सिन्धुली जिल्ला १७५
मकवानपुर जिल्ला १५८
चितवन जिल्ला २८७
धादिङ्ग जिल्ला ४२५
कुल ५१४६