माघ १७, २०८१, समय: १४:१७
काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको आगामी दुई वर्षे कार्य रणनीति बनाउन काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ । होटल संघ बागमतीको आयोजना तथा काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सहआयोजनामा बुधारदेखि धुलिखेल भिलेज रिसोर्टमा कार्यशाला गोष्ठी शुरु भएको हो ।
कार्यशाल गोष्ठी बिहीबार बेलुका सम्पन्न हुनेछ । यस गोष्ठीले समग्र प्रदेशका १३ वटै जिल्लाबाट संघमा आवद्ध होटल तथा पर्यटन व्यवसायीहरुको क्षमता विकास एवं सुधारमा केन्द्रित रहँदै पर्यटन प्रवद्र्धनमा कसरी काम गर्न सकिन्छ भन्ने रणनीतिक खाका बनाउने संघका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।
कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।
कार्यशालामा संघमा आवद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको संघले जनाएको छ ।
कार्यशाल गोष्ठीको उद्घाटन प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा गरेका छन् ।